सर्लाहीको हरिवन र बरहथवामा एक हजार जनाको आँखा परीक्षण गर्दा २०५ जनामा मोतिया विन्दुको सङ्क्रमण देखिएको छ ।हरिवन नगरपालिकाले नेपाल नेत्रज्योति सङ्घ भरतपुर आँखा अस्पताल चितवन र आँखा उपचार केन्द्र सुखेपोखरीसँग समन्वय गरी हरिवनका चार स्थान तथा बरहथवाको एक ठाउँमा निःशुल्क आँखा परीक्षण शिविर आयोजना गर्दा ठूलो सङ्ख्यामा मोतिया विन्दुका बिरामी फेला परेका हुन् । पाँच स्थानको आँखा शिविरमा एक हजार ३७ जनाको आँखा परीक्षण गर्दा २०५ जनामा मोतिया विन्दुको समस्या देखिएको हरिवन नगरपालिका, स्वास्थ्य शाखा संयोजक रामबाबुु चौधरीले जानकारी दिए । उनका अनुसार शनिबार हरिवन नगरपालिका ८ मा रहेको हरिवन स्वास्थ्य चौकी, हरिवन नगरपालिका ६ मा रहेको घुर्कौली स्वास्थ्य चौकी र हरिवन नगरपालिका ४ मा रहेको सासापुर स्वास्थ्य चौकीमा एकसाथ राखिएको आँखा परीक्षण शिविरमा ६६२ जनाको आँखा जाँचगर्दा १०८ जनामा मोतिया विन्दुको सङ्क्रमण देखिएको छ ।तीनवटा स्वास्थ्य चौकीबाट ५२ जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ । आइतबार नगर अस्पताल बरहथवामा २२५ जनाको आँखा परीक्षण गर्दा ६२ जनामा मोतिया विन्दुको सङ्क्रमण देखिएको छ भने ५० जनालाई निःशुल्क चश्मा वितरण गरिएको हरिवनका स्वास्थ्य संयोजक चौधरीले बताए ।सोमबार आँखा उपचार केन्द्र सुखेपोखरीमा सम्पन्न शिविरमा १५० जनाको आँखा परीक्षण गर्दा ३५ जनामा मोतिया विन्दुको समस्या देखिएको छ ।सुुखेपोखरीमा १० जनालाई निःशुल्क चश्मा उपलब्ध गराइएको छ । पाँचै स्थानमा आँखा परीक्षण गर्दा मोतिया बिन्दुको सङ्क्रमण देखिएका बिरामीलाई आजबाट तीन दिनसम्म हरिवन–१०, सुखेपोखरीस्थित आँखा उपचार केन्द्रमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।