सर्लाही सदरमुकाम मलङ्गवाबाट पेस्तोल र गोलीसहित एक भारतीय युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य सितामढी जिल्ला सोनवर्षा बस्ने २८ वर्षीय नवीन कुमार रहेका छन् । उनलाई मलङ्गवा नगरपालिका–१२, चमेलीमाई मन्दिर नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए ।

इन्स्पेक्टर पाण्डेका अनुसार नवीन कुमारको साथबाट एक थान घरेलु कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली बरामद भएको छ । चमेलीमाई मन्दिर नजिकै पार्किङ गरेर राखिएको बीआर ३० एटी ८९६१ नम्वरको मोटरसाइकललाई शङ्का लागि चेक गर्दा मोटरसाइकलको ट्याङकीमाथि राखिएको झोलाभित्रबाट हतियार बरामद भएको हो ।

नवीनकुमारलाई हातहतियार सम्वन्धी कसूरमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको इन्स्पेक्टर पाण्डेले बताए । भारतीय नागरिकले हतियार बोकेर आउनुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।