राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेस प्रदेशमा संगठन अडिट (लेखाजोखा) को काम सुरु गरेको छ । केन्द्रीय समितिको निर्देशन बमोजिम गठित ‘मधेस प्रदेश संगठन अडिट समिति’ ले स्थलगत रूपमै पुगेर काम सुरु गरेको हो । भदौ ५ गते बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा अडिट समिति गठन गरेको थियो ।

मधेस प्रदेशको महाधिवेशन हुन नसक्नुका कारण पत्ता लगाउन समिति बिहीबार मधेस प्रदेशको सिमरा पुगेको थियो । मधेसमा अधिवेशन सफल भएको पर्सा जिल्लाबाट समितिले शुक्रबारदेखि अडिट कार्यको थालनी गरेको एक सदस्यले जानकारी दिए ।

शुक्रबार पर्सा र बाराको अडिट सम्पन्न गरेको टोलीले शनिबार रौतहट र सर्लाही हुँदै आइतबारसम्ममा धनुषा (जनकपुर) र महोत्तरी जिल्लाको संगठन अडिट कार्य पूरा गरिसकेको छ।

अडिट समितिमा सुरेन्द्र चौधरी, अशोककुमार चौधरी, प्रमोद न्यौपाने, जगदीश खरेल र पुनम अग्रवाल सदस्य रहेका छन्।
रास्वपाले यसअघि मधेस प्रदेशका जिल्लाहरूमा निर्धारित समयभित्र अधिवेशन सम्पन्न गर्न सकेको थिएन। आन्तरिक विवादका कारण पर्साबाहेक अन्य ७ जिल्लामा अधिवेशन प्रक्रिया रोकिएपछि गत असारमा चितवनमा सम्पन्न राष्ट्रिय भेलामा पुराना महाधिवेशन प्रतिनिधिहरूलाई नै सहभागी गराइएको थियो।

पर्सा जिल्लामा समेत विवाद भएपछि तोकिएको मितिभन्दा एक दिन ढिला गरी निर्वाचनमार्फत नेतृत्व चयन गरिएको थियो। तत्कालीन केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठको उपस्थितिमा भएको निर्वाचनमा पर्सा क्षेत्र नं. २ का सांसद सुशीलकुमार कानु र क्षेत्र नं. १ का सांसद हरि पन्तबिच प्रतिस्पर्धा भएको थियो । जसमा संस्थापक सभापति समेत रहेका पन्त ४८ मतान्तरले विजयी भएका थिए।

प्रतिवेदनपछि अधिवेशन प्रक्रिया अघि बढ्ने

मधेसका आठवटै जिल्लाको स्थलगत संगठन अडिट सम्पन्न गरी समितिले केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाउनेछ। समितिले प्रतिवेदन पेस गरेपछि लामो समयदेखि रोकिएको मधेस प्रदेशका जिल्ला अधिवेशनहरू पुनः सञ्चालन हुने नेताहरूले बताएका छन्।

यसैबिच, केही दिनअघि तय भएको पार्टी सभापति रवि लामिछानेको मधेस प्रदेश भ्रमण भने भोटेकोशीमा आएको बाढी विपद्का कारण अन्तिम समयमा स्थगित भएको थियो । मधेस प्रदेश र पर्सा बाहेकका अधिवेशन स्थगित भएपछि विवाद मिलाउने जिम्मा सभापति लामिछानेलाई दिएको थियो ।