सर्लाहीको लालबन्दी नगरपालिका–७, डाँडाटोलमा आज एक भैँसी फार्ममा आगलागी हुँदा पाँच बिघाको पराल जलेर नष्ट भएको छ ।डाँडाटोलका लेखराम जर्गा मगर (अर्जुन) ले संचालन गरेको भैँसी फार्ममा विद्युत् सर्ट भएर आगलागी भएको हो । आगलागीबाट करिव पाँच बिघाको पराल जलेर नष्ट भएको पीडितले बताएका छन् ।भैँसीलाई खुवाउनका लागि किनेर राखिएको २१/२२ बिघाको ४ वटा परालको टालमध्ये एउटा टालको पराल जलेर नष्ट भएको हो । अन्य तीनवटा परालको टालमा भने आगोले भेट्न पाएन ।आगलागी हरिवन र मलंगवा नगरपालिकाबाट आएका दुुईवटा दमकल, जेसीबी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीय वासिन्दा भएर नियन्त्रणमा लिएको लालबन्दी ७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले बताए ।पराल भित्रभित्रै आगो सल्किएकाले नियन्त्रणमा लिन करिव चार घण्टा लाग्यो । दिउँसो साँढे १ बजेपछि सुरु भएको आगलागी साँझ साँढे ५ बजेतिर मात्रै पूर्णरुपमा नियन्त्रणमा आएको स्थानीय प्रकाश पोखरेलले बताएका छन् ।आगलागीमा परेर एउटा लैनो भैँसी समेत जलेर घाइते भएको छ ।

घाइते भैँसीलाई फार्ममै नगरपालिकाका पशु चिकित्सक बोलाएर उपचार गरिएको वडाध्यक्ष कार्कीले बताएका छन् ।वडाध्यक्ष कार्कीका अनुसार प्रारम्भिक विवरण अनुसार आगलागीबाट करिव दुुई लाख रुपैयाँ बराबरको क्षति भएको छ ।