नेपाली कांग्रेस जिल्ला अनुशासन समिति, सर्लाहीले पार्टीका नेता तथा मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री किशोर रायसँग स्पष्टिकरण माग गरेको छ।

समितिले पठाएको पत्रमा मन्त्री रायलाई पार्टीको अनुशासनविपरीत गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ। मन्त्री रायले अन्य दलका नेतासँग मिलेर काम गरेको, पार्टीको निर्णयविपरीत गतिविधि सञ्चालन गरेको तथा संगठनविरोधी कार्यमा संलग्न रहेको भन्दै पार्टीले ७ दिनभित्र लिखित स्पष्टिकरण दिन निर्देशन दिएको छ।

पत्रमा भनिएको छ, “यदि समयसीमाभित्र स्पष्टिकरण प्राप्त नभएमा आवश्यक अनुशासनात्मक कारबाही अगाडि बढाइनेछ।”

अनुशासन समितिका संयोजक डा. सरोज कुमार द्वारा हस्ताक्षरित पत्र जिल्ला कार्यसमिति हुँदै प्रदेश समिति र केन्द्रीय कार्यालयमा समेत जानकारीका लागि पठाइएको छ।