गोलभेँडाले मुल्य पाउन छाडेपछि सर्लाहीका किसान मारमा परेका छन् ।यहाँको थोक तरकारी बजारमा गोलभेँडा प्रतिकेजी चार रुपियाँमा झर्दा किसान मर्कामा परेका हुन् । लोकल जातको गोलभेँडा प्रतिकेजी चारदेखि छ रुपियाँ र हाइब्रिड गोलभेँडा प्रतिकेजी छ देखि आठ रुपियाँमा बिक्री भइरहेको छ ।

हुस्सु हटेर घाम चर्किन थालेपछि एकैपटक पाकेको गोलभेँडाले मुल्य नपाउँदा मार परेको लालबन्दी नगरपालिका–१०, चन्द्रपुरका किसान अमर लामाले गुनासो गरेका छन् । उनले किलोको चार÷पाँच रुपियाँमा गोलभेँडा बिक्री गर्दा लगानी समेत नउठ्ने अवस्था रहेको बताए ।“यो मुल्यमा गोलभेँडा बेच्दा किसानलाई घाटैघाट मात्रै छ,” लामाले भने, “जोताई, बीउ र विषादीको खर्च केही पनि उठ्दैन् ।” किसानका अनुसार अन्य तरकारीको तुलनामा गोलभेँडामा बढी मात्रामा किटनाशक विषादी प्रयोग गर्नुपर्ने हुन्छ ।दिनहुँ छिट्नुपर्ने विषादी अत्यन्त महँगो पर्ने तर गोलभेँडाको मुल्य भने असाध्य सस्तो हुँदा मार परेको किसानले गुनासो गरेका छन् । गोलभेँडा बिक्री हुनै छाडेपछि कतिपय किसानले गोलभेँडा नटिपेर बारीमै छाड्न थालेका छन् ।कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अध्यक्ष एवं व्यापारी तोरनबहादुर मगरले सबैतिर एकैपटक गोलभेँडा उत्पादन भएको तर खपत हुन नसकेका कारण किसानले मुल्य पाउन नसकेका बताए । “अहिले जताततै गोलभेँडा अत्यधिक उत्पादन भइरहेकाले मुल्य खस्किएको हो,” मगरले भने, “काठमाडौँमा टनेलको गोलभेँडा अत्यधिक भित्रिरहेकाले यहाँबाट गोलभेँडा पठाउन सकिएको छैन् । काठमाडौँमा निर्यात घटेपछि तरकारी बेच्नै मुस्किल पर्छ ।”मधेश प्रदेशकै ठूलो तरकारी बजारकारुपमा रहेको लालबन्दी थोक तरकारी बजारबाट काठमाडौँमा दैनिक ६० देखि ७० टन र जनकपुर, वीरगन्ज, मलङ्गवा, चन्द्रनिगाहपुर, सिन्धुलीलगायत नजिकका बजारमा १५ देखि २० टन गोलभेँडा निर्यात हुने गरेको छ । गोलभेँडा बिक्री नभएर बारीमै नष्ट भइरहे पनि बजारिकरणका लागि स्थानीय पालिकाले कुनै वास्ता नगरेको किसानले गुनासो गरेका छन् ।लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीले गोलभेँडा छिटो नष्ट भएर जाने हुँदा किसानलाई सस्तो मुल्यमै बिक्री गर्नुपर्ने बाध्यता रहेको बताए । नगरप्रमुख अधिकारीले गत वर्ष किसानलाई गोलभेँडाको सस बनाउने तालिम दिएपनि त्यसबाहेक गोलभेँडाको बजारिकरणका लागि थप केही गर्न नसकिएको स्वीकार गरेका छन् ।“घाम चर्किएपछि गोलभेँडा नष्ट भइहाल्ने भएकाले किसानलाई समस्या नै छ,” नगरप्रमुख अधिकारीले उज्यालो अभियानसँग भने,“ धेरै परिमाणमा उत्पादन भएका बेला यस्तो समस्या भएपनि अन्य समयमा त किसानले मुल्य पाइरहेकै हुन्छन् ।” नगरप्रमुख अधिकारीले ठूला होटल तथा गोलभेँडा खपत हुने सहरमा निर्यात गर्नुपरे त्यसका लागि नगरपालिका किसानलाई सहयोग गर्नका लागि तयार नै रहेको बताए ।सर्लाहीमा उत्तरी भेगको लालबन्दी, ईश्वरपुर, हरिवन र बागमती नगरपालिकाको दुुई हजार ५०० हेक्टर जग्गामा व्यावसायिक रुपमा गोलभेँडा खेती हुने गरेको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ ।