पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाही र रौतहटलाई जोड्ने बागमती खोलाको पुल मर्मत कार्य सम्पन्न गरी पुलबाटै सवारी साधन संचालन गर्न थालिएको छ ।पुलको ‘ब्यारिङ प्याडेस्टल’ मा क्षति पुुगी केही भागमा ढलान नै उप्किएको थियो । क्षति पुुगेको भागमा मर्मतको काम सकेर पुलबाट गत मंगलबार साँझबाटै नियमित सवारी साधन संचालन हुन थालेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर गिरिसनन्दनप्रसाद तोरसले जानकारी दिए । पुलको मर्मत कार्य गर्न भन्दै माघ २७ गतेदेखि पुलबाट सवारी साधन संचालनमा रोक लगाइ डाइभर्सनबाट बागमती खोला वारपार गर्ने व्यवस्था मिलाइएको थियो ।पुल संचालन भएसँगै अब डाइभर्सन भत्काएर त्यहाँ हालिएका ह्यूम पाइप निकाल्ने तयारी भइरहेको इन्जिनियर तोरसले बताए । पुलमा आधुनिक प्रविधिबाट उच्च गुणस्तरको ‘कङ्क्रिट’ हालेर ढलान गरिएकाले तत्कालै सवारी साधन सञ्चालन गर्न मिल्ने भएको प्राविधिकले बताएका छन् ।सर्लाहीमा ५५ वर्षअघि नै निर्माण गरिएका बागमतीसहित अन्य खोलाको पुल जिर्ण बनेको लामो भइसकेको छ । पुलमा वर्षेनि खाल्डाखुल्डी परेको ठाउँमा टाल्टुल पारेर सवारी साधन सञ्चालन हुँदै आएको छ ।अब पूर्व पश्चिम राजमार्ग विस्तारकाक्रममा यि पुलसँगै अर्को समानान्तर पुल निर्माण गर्ने तयारी गरिएको छ । पूर्व पश्चिम राजमार्गम हरिवनस्थित चापिनी खोलामा राजमार्ग विस्तारैक्रममा समानान्तर पुल बनाउने काम सुरु भइसकेको छ