सर्लाहीको हरिपूर्वा नगरपालिकामा निर्माण गरिएको विद्युत् सवस्टेशन बल्ल संचालनमा आएको छ ।बिहीबारदेखि लोड दिएर सवस्टेशन संचालन गरिएको हो । नेपाल विद्युत् प्राधिकरण मलंगवा वितरण केन्द्रका प्रमुख एवं उप–प्रवन्धक इन्जिनियर उमेशप्रसाद यादवले ३३/११ केभीको हरिपूर्वा सवस्टेशनबाट तत्काल हरिपूर्वा र पर्सा गाउँपालिका क्षेत्रमा मात्र विद्युत् प्रवाह गरिएको जानकारी दिए ।मलंगवा सवस्टेशनदेखि लामो प्रशारण लाइन भएर बत्ती तान्नुपर्दा बारम्बार विद्युत् कटौति भइरहने, भोल्टेज कम आउनेजस्ता समस्याबाट सर्लाहीको पूर्वी बेल्टका स्थानीय वासिन्दा आजित रहेका थिए । हरिपूर्वा र पर्सा क्षेत्रका स्थानीय लामो समयदेखि हरिपूर्वा सवस्टेशन सञ्चालनको प्रतिक्षामा रहेका थिए ।हरिपूर्वा नगरपालिका २ मा केही वर्षअघि नै सवस्टेशन निर्माण भएपनि हरिपूर्वा र ईश्वरपुर नगरपालिकाको केही क्षेत्रमा बिजुलीको पोल गाड्ने विषयमा विवाद हुँदा सवस्टेशन नै अलपत्र रहेको थियो । सवस्टेशनमा १६ एमभिएको ट्रान्सफर्मर जडान गरिएको हरिपूर्वा सवस्टेशनमा कार्यरत प्राविधिक मेघाकान्त साहले बताएका छन् ।ढल्केबरतर्फबाट ल्याइएको ३३ केभी लाइन जोडेर श्रीनगर, वसन्तपुर, हरिपूर्वा हुँदै हरिपूर्वा नगरपालिका २ मा निर्माण भएको सवस्टेशनमा पु¥याइएको छ ।