विद्यार्थी राख्ने कक्षाकोठाको चरम अभाव भएपछि सर्लाहीको सिसौटियामा रहेको एक विद्यालयमा चार करोड खर्चिएर नयाँ विद्यालय भवन निर्माण भइरहेको छ ।जिल्लाको दक्षिणी ग्रामीण भेगस्थित गोडैता नगरपालिका–१०, सिसौटियामा रहेको नारायणहरि माध्यमिक विद्यालयमा दुुई तले १४ कोठे विद्यालय भवन धमाधम निर्माण भइरहेको हो । विद्यालयका प्रधानाध्यापक मनोजकुमार रायले बालविकासदेखि कक्षा १० सम्म एक हजार ७०० विद्यार्थी अध्ययनरत् रहेको विद्यालयमा अहिले रहेका कक्षाकोठा अपर्याप्त रहेकाले पठनपाठनमा असाध्य समस्या परिरहेको बताए ।नगरकै धेरै विद्यार्थी अध्ययन गर्नेमध्यको एक विद्यालयकारुपमा रहेको नारायणहरि मावि सिसौटियामा विद्यालय भवन निर्माणका लागि चार करोड २८ लाख १८ हजार ५२७ रुपियाँ एक पैसामा ठेक्का लागेको छ । दुुई तले भवनको डिपिसीसम्मको काम पूरा भएको छ ।कक्षाकोठाको अभावमा विद्यार्थी राख्नै समस्या परिरहेकाले सम्झौता अनुसार असारसम्ममा जसरी पनि भवन तयार पार्ने गरी काम गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादवले बताए । कक्षाकोठाको अभावमा विद्यार्थीलाई कोचामकोच गरेर पढाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले सङ्घ सरकारसँग समन्वय गरी चार करोडमध्ये आधा नगरपालिकाले बेहोर्ने गरी विद्यालय भवन निर्माण भइरहेको उनले बताए ।विद्यार्थीको अधिक चाप रहेको गोडैता नगरपालिकाकै वडा नं. १२ मधुवनीमा रहेको बैजनाथ माध्यमिक विद्यालयमा दुुई साताअघि मात्रै १६ कोठे विद्यालय भवन निर्माण गरी उद्घाटन गरिएको थियो ।नगरभित्र गौरवकारुपमा रहेका सिसौटिया र मधुवनीका यी दुुई विद्यालयमा विद्यार्थीको अत्यधिक चापलाई ख्यालगरी सुविधा सम्पन्न भवनका लागि नगरले ठूलो रकम खर्चिएको नगरप्रमुख यादवको भनाई छ ।