सर्लाहीको हरिवन नगरपालिका–१०, सुखेपोखरीमा रहेको चतुभूजेश्वर जनता माध्यमिक विद्यालयमा गायन प्रतियोगिता (प्रथम चतुर्भूजेश्वर आइडल–२०८१) सम्पन्न भएको छ ।विद्यालयमा अध्ययनरत् विद्यार्थीमा रहेको गायन प्रतिभा खोजी गर्ने उद्देश्यसहित वार्षिक कार्यक्रमअन्तर्गत पहिलो पटक गायन प्रतियोगिता आयोजना गरिएको हो । गायनमा विद्यालयको कक्षा १० का छात्र प्रकाश लामिछाने पहिलो भएका छन् । त्यस्तै कक्षा ९ का छात्र विजय घिसिङ दोस्रो र कक्षा ९ कै छात्रा सृष्टी भण्डारी तेस्रो भएका निर्णायक तेजनारायण आले मगरले जानकारी दिए ।त्यसैगरी विद्यालयले आफ्ना विद्यार्थीबिच कविता लेखन तथा वाचन प्रतियोगिता समेत सम्पन्न गरेको छ । सो प्रतियोगितामा कक्षा १० का छात्रा दीया थपलिया पहिलो, कक्षा ९ का छात्रा उत्साह आचार्य दोस्रो र कक्षा ७ का छात्रा सुवानी सिंह राजपुत तेस्रो भएका निर्णायक भक्ति रिजालले बताएका छन् ।गायन तथा कवित वाचन प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई विद्यालयले नगद तथा प्रशंसा–पत्रसहित सम्मान गरेको छ ।बिजेता विद्यार्थीलाई नगरप्रमुख रमेश बुढाथोकी (कमल), उपप्रमुख हरिमाया घलान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष भुजेल, प्रधानाध्यापक टेकबहादुर राउत, विभिन्न वडाका वडाध्यक्षलगायत भएर पुरस्कार वितरण गरेका छन् ।