पार्टीभित्रको गुटको असर नेविसंघ मोरङमा देखिएको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु अध्यक्षको नेतृत्वमा नेविसंघ सभापति कुटिएका छन् ।नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेललाई नेविसंघकै नेता–कार्यकर्ताले कुटेका छन् ।महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष जसवन्त पौडेलको नेतृत्वमा नेविसंघ जिल्ला सभापति पोखरेलमाथि कुटपिट भएको हो ।बिहीबार दिउँसो क्याम्पस परिसरमै पोखरेल कुटिएका हुन् । कुट्ने र कुटाइ खाने दुवै नेविसंघकै नेता हुन् । तर, उनीहरूको गुट फरक छ ।कुट्ने स्ववियु सभापति पौडेल कांग्रेस संस्थापन पक्ष र कुटिने पोखरेल डा. शेखर कोइराला पक्षका हुन् ।विसंघ स्रोतका अनुसार पोखरेल आसन्न स्ववियु चुनावको तयारीको क्रममा संगठन विस्तारका लागि कलेजमा पुगेका थिए । सोही क्रममा पौडेल पक्षका विद्यार्थीहरूले उनलाई रोकेका थिए । त्यसक्रममा भनाभन भएपछि स्ववियु सभापति पौडेलसहितको समूहले पोखरेललाई लछारपछार पार्दै कुटपिट गरेको हो ।पोखरेललाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।