सर्लाहीमा मनसुनजन्य विपद् प्रतिकार्य योजना २०८२/८३ निर्माणका लागि कार्यदल गठन गरिएको छ ।आज अपरान्ह जिल्ला प्रशासन कार्यालय मलङ्गवामा सम्पन्न जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीको बैठकले प्रतिकार्य योजना तयार पार्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदलमा डिभिजन वन कार्यालय, स्वास्थ्य कार्यालय, पूर्वाधार विकास कार्यालय, बलरा नगरपालिका, लालबन्दी नगरपालिका, नेपाल विद्युत् प्राधिकरण, नेपाल दुरुसञ्चार कार्यालय, बागमती सिँचाई आयोजना, सडक डिभिजन कार्यालय चपुर, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, चारवटै सुरुक्षा निकाय, रेडक्रस र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका सदस्य प्रतिनिधि रहने छन् ।कार्यदलले मनसुनजन्य विपद्का घटनाहरुको विष्लेषण तथा जोखिम क्षेत्रहरुको पहिचान गरी विपद् प्रतिकार्य योजना तयार पार्ने सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बताए । बैठकले गर्मीयाममा हुने आगलागीलगायतका विपद्बाट नागरिकलाई जोगाउन सबै स्थानीय तहले अविलम्ब स्थानीय विपद् व्यवस्थापन समितिको बैठक राखी आवश्यक सामग्रीको बन्दोबस्त गर्ने निर्णय गरेको छ ।त्यस्तै जिल्लामा रहेका वारुणयन्त्रको आवश्यक मर्मतसम्भार गरी तयारी अवस्थामा राख्ने र थप वारुणयन्त्र व्यवस्थापनको लागि पहल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिए । सर्लाहीमा दक्षिणी भेगमा सदरमुकाम मलङ्गवा नगरपालिकासँग र उत्तरी भेगमा हरिवन नगरपालिकासँग मात्रै वारुणयन्त्र रहेका छन् ।२० स्थानीय तह रहेको सर्लाहीमा अब आगलागीको याममा जिल्लामा आगलागी हुनासाथ वारुणयन्त्रको अभाव खड्किने गरेको छ ।