सर्लाहीको हरिवन नगरपालिका–४, पटौनामा आयोजित भागवत महापुराण सप्ताह सत्सङ्ग ज्ञान महायज्ञको समापन भएको छ ।धार्मिक पर्यटन क्षेत्र विकास तथा गणेश मन्दिर परिसरमा रहेको बुढानिलकण्ठ पोखरीमा मुर्ति स्थापना गरी वाटर फाउन्टेन निर्माण गर्ने उद्देश्यले आयोजित महायज्ञको हिजोबाट समापन भएको हो । योगमाया सखी बबिता बानियाँ (जेरी) प्रमुखवाचक रहेको महायज्ञमा नगद २० लाखसहित विभिन्न पालिकाबाट बोलकबोलसहित ४९ लाख रुपैयाँ संकलन भएको हरिवन नगरपालिका ४ का वडाध्यक्ष केशवराज थापाले जानकारी दिए ।वडाध्यक्ष थापाका अनुसार महायज्ञ समापनकै अवसरमा बुढानिलकण्ठ पोखरीमा निर्माण गर्न लागिएको वाटर फाउन्टेनको हिजो शिलान्यास गरिएको छ ।मन्दिर परिसरमा अहिले संरक्षण समितिका अध्यक्ष केदार बस्नेत नेतृत्वको टोलीले २०४३ सालमा मन्दिर स्थापना गर्न मुख्य भूमिका निर्वाह गर्ने व्यक्तिहरुको शीलालेखमा नाम लेख्ने काम धमाधम गरिरहेको छ ।