सर्लाहीको हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योगले उखु किसानलाई एक अर्ब ३७ करोड भन्दा बढी भुक्तानी दिएको छ ।उद्योगले चालु सिजनमा किसानलाई उखु खरिदबापतको एक अर्ब ३७ करोड तीन लाख रुपैयाँ भुक्तानी गरेको हो । किसानले फागुन ७ गतेसम्म उद्योगमा ल्याएर बिक्री गरेको सम्पूर्ण उखुको रकम बैंक खातामा पठाइसकिएको उद्योगका प्रशासकीय प्रवन्धक ठाकुरप्रसाद नेपालले उज्यालो अभियानलाई जानकारी दिए ।इन्दुुशंकर चिनी उद्योगले यो वर्ष किसानलाई एक हप्ताभित्रैमा उखुको भुक्तानी दिइरहेको छ । गएको मंसिर २७ गतेदेखि सञ्चालनमा आएको उद्योगले फागुन १४ गतेसम्ममा २६ लाख ५१ हजार ४०० क्विन्टल उखु क्रसिङ गरेको उद्योगका उखु प्रवन्धक योगनारायण रजकले बताएका छन् । उनका अनुसार यही फागुन मसान्तसम्म उखु क्रसिङ गरेर मिल बन्द गर्ने तयारी छ ।उद्योगले यो वर्ष ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । सरकारले निर्धारण गरेको मुल्य अनुसार चिनी उद्योगले किसानलाई उखुको प्रतिक्विन्टल ५८५ रुपैयाँका दरले भुक्तानी गरिरहेका छन् ।उक्त रकममा सरकारले अनुदानबापत ७० रुपैयाँ थप गरेर दिने छ । चिनी मिलले धमाधम भुक्तानी दिएपनि सरकारले दिने ७० रुपैयाँ अनुदान रकम कहिले पाउने भन्ने अन्यौलता नै रहेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताएका छन् ।