मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह अनुुगमनमा आउँदा सर्लाहीको नवलपुरमा संचालित अवैध अस्पतालका संचालकहरुको भागाभाग नै मच्चिएको छ ।

मुख्यमन्त्री सिंह चन्द्रनिगाहपुर र हरिवनका विभिन्न अस्पतालहरुको अनुुगमन गरी गएराति ९ बजेतिर लालबन्दी नगरपालिका–१, स्थित नवलपुर आइपुुगेका थिए । मुख्यमन्त्री अनुुगमनमा आएको सुुइँको पाउनासाथ नवलपुरमा अवैध स्वास्थ्य संस्था सञ्चालन गरेर सर्वसाधारणको स्वास्थ्यमा गम्भीर खेलवाड गरिरहेका संचालकको भागाभाग मच्चिएको हो ।

मुख्यमन्त्री सिंह नवलपुर आइपुुग्दा भानु अन्जली अस्पताल मात्रै खुलेको थियो । मापदण्ड विपरीत संचालित उक्त अस्पताललाई तत्कालै बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।

मुख्यमन्त्री आएको सूचना पाएपछि नवलपुरमा रहेका रक्षा हेल्थकेयर, जय भवानी हेल्थकेयरलगायत अन्य केही अस्पतालका सर्टर बन्द गरिएको पाइएको छ । नवलपुर बजार पछिल्लो समय अवैध स्वास्थ्य संस्था संचालन गर्ने थलो बन्दै गएको छ ।

जिल्ला प्रशासन कार्यालय र लालबन्दी नगरपालिकाले बारम्बार अनुुगमन गरी नवलपुरमा संचालित अवैध अस्पताल बन्द गर्न निर्देशन दिँदै आएका छन् । तर पनि अवैध स्वास्थ्य संस्था संचालन गरी सर्वसाधारणलाई लुट्नेक्रम रोकिन सकेको छैन् ।

प्रदेशका मुख्यमन्त्री सिंहले नवलपुरका अस्पतालअघि हरिवनमा संचालित अस्पतालको समेत अनुुगमन गरेका छन् । हरिवनमा स्वाभिमान अस्पतालबाहेक अन्य चारवटा अस्पताल तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।

अनुुमती नलिएको तथा मापदण्ड पूरा नगरेका हरिवनमा संचालित दयन्ती अस्पताल, सर्लाही जीवन हेल्थ केयर, लीलावती अस्पताल र सरस्वती अस्पताल तत्काल बन्द गर्न निर्देशन दिइएको मुख्यमन्त्री सिंहको सचिवालयले जनायो ।

मुख्यमन्त्री सिंहसहित मधेश सरकारका स्वास्थ्य मन्त्री शत्रुुधनप्रसाद सिंह, निमित्त स्वास्थ्य सचिव राजेशकुमार मिश्रलगायत भएर हरिवन र नवलपुरका स्वास्थ्य संस्थाको गएराति अनुुगमन गरेका हुन् ।