सर्लाहीको हरिवनमा दुर्घटना गराएर फरार बस र बसका चालकलाई प्रहरीले निरन्तरको अनुसन्धानपछि नियन्त्रणमा लिन सफल भएको छ ।

फागुन १५ गते बिहान साँढे २ बजे हरिवन नगरपालिका ११ स्थित चिनीमिल नजिकैको सडकमा मलंगवा नगरपालिका–५, भाडसर बस्ने ४५ वर्षीय बोधेश कुमार सहनी मृत फेला परेका थिए । हरिवन नगरपालिका ४ तिनघरेमा रहेको टाइम पानी फ्याक्ट्रीमा इलेक्ट्रिसियनको काम गर्ने सहनीलाई कम्मर भन्दा तलको भाग छेदविछेद हुने गरी ठक्कर दिने गाडीको सुरुमा पहिचान हुन सकेको थिएन ।

इलाका प्रहरी कार्यालय हरिवनले सिसी टिभी फूटेज तथा अन्य अनुसन्धानबाट दुर्घटनामा संलग्न बस र त्यसका चालकलाई पहिचान गर्न सफल भएको हो । उक्त दुर्घटनामा पश्चिमबाट पूर्वतर्फ रिजर्भ हिँडेको ना ६ ख ७४४५ नम्वरको सुपर कालिका बस संलग्न रहेको पुुष्टी भएको इलाका प्रहरी कार्यालय हरिवनले जनायो ।

उक्त बस र त्यसका चालक चितवनको माडी नगरपालिका–२, जीवनपुर बस्ने ३६ वर्षीय दिनेश मरदनियालाई फागुन १७ गते पश्चिमतर्फबाट बस चलाएर ल्याउँदै गर्दा हरिवन नगरपालिका–११, स्थित पूर्व पश्चिम राजमार्गबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए ।

तामाङका अनुसार दुर्घटनापछि बस चालकले दुर्घटनाबारे प्रहरीलाई अब थाहा नहुने भन्दै नियमित बस गुुडाउन सुरु गरिसकेका थिए । बस चालक मरदनियाविरुद्ध सवारी ज्यान मुद्दामा सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक तामाङले बताए ।

दुर्घटनामा संलग्न बस इलाका प्रहरी कार्यालय हरिवनमा लगेर राखिएको छ । सुरुमा पैदलयात्री बोधेशको मृत्युपछि गाडी पत्ता नलागेको भन्दै दुर्घटनाकै दिन दिउँसोपख आफन्त र स्थानीयले पूर्व पश्चिम राजमार्ग अन्तर्गत हरिवनमै टायर बालेर चक्काजाम गरेका थिए ।