पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, स्थित सुखेपोखरीमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी एक महिलालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।

आज दिउँसो पौने १ बजेतिर चतुुर्भूजेश्वर महादेव मन्दिर सुखेपोखरीमा दर्शन गरेर घर फर्कदै गर्दा ट्रकको ठक्करबाट हरिवन नगरपालिका–११, बोइबोइ चोक बस्ने ५५ वर्षीया रानीदेवि साह गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । साहलाई मोडल अस्पताल लालबन्दीमा प्राथमिक उपचारपछि आज अपरान्ह ४ बजेतिर मनाङ एयरको हेलिकप्टरमार्फत बीएण्डबी अस्पताल काठमाडौंतर्फ पठाइएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले बताए ।

महिलालाई बयलवासबाट वीरगञ्जका लागि छुटेको ना ५ ख २७६४ नम्वरको खाली ट्रकले सुखेपोखरी पुलमा ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट अचेत भइ सडकमै ढल्नुुभएकी महिलालाई उपचारका लागि लालबन्दी ल्याइ अस्पताल भर्ना गरेपश्चात आफन्त सम्पर्कमा आएर परिचय खुलाएका प्रहरीले बताएको छ ।

रानीदेवीलाई ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले बताएका छन् ।