मधेश प्रदेशकै सबैभन्दा ठूलो लालबन्दीस्थित कृषि थोक बजार व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन भएको छ ।सर्लाहीसहित आसपासका जिल्लाका किसानले तरकारी ल्याएर बिक्री गर्ने मुख्य थोक तरकारी बजारका रुपमा रहेको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीमा प्रमोदप्रसाद थपलियाको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । बजारमा तरकारी ल्याएर बिक्री गर्ने किसान र तरकारी खरिद गर्ने व्यापारीका प्रतिनिधिको हिजो सम्पन्न भेलाबाट थपलियाको अध्यक्षतामा छ सदस्यीय बजार समिति सर्वसम्मतरुपमा गठन गरिएको बजार समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिए ।घिमिरेका अनुसार समितिमा थपलिया अध्यक्ष, प्रेमबहादुर घिसिङ, राकेश ढुुङ्गेल, विजय बस्नेत, रामसागर महतो र अमरिकाकुमारी देवी सदस्य रहेका छन् । किसान र व्यापारीबाट तीन/तीन जना प्रतिनिधि राखेर समिति गठन गरिएको हो ।समितिका नवनिर्वाचित अध्यक्ष प्रमोदप्रसाद थपलियाले यहाँका किसानले गोलभेँडाको मुल्य नपाएर ५० रुपियाँ क्रेटमा बेच्नुुपर्ने र अन्य तरकारीले समेत भाऊ नपाइरहेको दुःखद् अवस्थालाई पालिका, प्रदेश तथा सङ्घ सरकारसँग समन्वय गरी न्यूनतम मूल्य पाउने वातावरण बनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । धेरै तरकारी फल्ने याममा तरकारीलाई चिस्यान केन्द्रमा भण्डारण गरेर भाऊ आउने बेला बिक्री गर्ने अवस्था सिर्जना गर्ने लक्ष्य रहेको अध्यक्ष थपलियाको भनाई छ ।कृषि विभागले कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीको निर्वाचन गराउन वरिष्ठ कृषिविज्ञ तिलकराज चौलागाईं र भवानी खतिवडालाई खटाएको थियो । नवनिर्वाचित बजार समितिका अध्यक्ष तथा सदस्यलाई बजार समितिका निवर्तमान अध्यक्ष तोरनबहादुर मगरको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका ७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) को प्रमुख आतिथ्यतामा प्रमाण–पत्र वितरण गरिएको छ ।कार्यक्रममा लालबन्दी नगरपालिकाका प्रशासकीय अधिकृत गोपाल श्रेष्ठ, कृषि अधिकृत गोकर्ण पौडेल, कृषि ज्ञान केन्द्र मलङ्गवाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।