परवानीपुर, २२ चैत – सर्लाहीको लालबन्दी नगरपालिका–१६, परवानीपुरमा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ ।

वडा कार्यालयले आफ्नो बजेटबाट वडाभित्र कार्यरत ९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई एक÷एक थान साइकल प्रदान गरेको हो । न्यून सेवा, सुविधामा खटिएर गाउँघउमा खोप कार्यक्रम तथा प्राथमिक स्वास्थ्य उपचारमा महत्वपूर्ण योगदान गरिरहेका महिला स्वास्थ्य स्वयंसेविकालाई वडा कार्यालयमा बोलाएर सम्मान पत्र र साइकल प्रदान गरिएको लालबन्दी १६ का वडाध्यक्ष गणेशबहादुर थापाले जानकारी दिए ।

नगरप्रमुख वासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा महिला स्वयंसेविकालाई प्रोत्साहनस्वरुप साइकल वितरण गरिएको हो ।

यस्तै वडा कार्यालयले लालबन्दी १६ का दलित समुदायलाई लक्षित गरी ३ दिने सचेतनामूलक तालिम प्रदान गरेको छ ।

दलित समुदायले राज्यबाट पाउने सेवा, सुविधा र आफूमाथि अत्याचार हुँदा अपनाउनुुपर्ने कानूनी प्रक्रियाबारे अधिवक्ता बोलाएर ३ दिनसम्म तालिम प्रदान गरिएको वडाध्यक्ष थापाले बताए ।