मलंगवा,कात्तिक,२०- जिल्ला प्रशासन कार्यालय गुल्मीले तिहार, छठ तथा नेपाल संवत्का अवसरमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न जिल्लावासीलाई आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी मोतीराम सापकोटाले सार्वजनिक सूचना जारी गर्दै देउसीभैलो लगायतका सांस्कृतिक कार्यक्रम मर्यादित, अनुशासित र व्यवस्थित रूपमा राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न अनुरोध गरेका छन् ।

प्रशासनले पटका, आतसबाजी तथा विस्फोटक पदार्थ प्रयोग नगर्न, जुवातास नखेल्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन र सार्वजनिक स्थानमा होहल्ला नगर्न आग्रह गरेको छ ।

त्यस्तै, चाडपर्वका बेला घरको सुरक्षा गर्न, बालबालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल राख्न, क्षमताभन्दा बढी यात्रु नबोक्न, चर्को भाडा नलिन र ट्राफिक नियम पालना गर्न पनि अनुरोध गरिएको छ ।

सूचनामा कानुनविपरीतका गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने जनाइएको छ ।