प्रहरीको ‘नक्कली इन्स्पेक्टर’ बनी ठगी कार्यमा संलग्न एक युवक सर्लाही सदरमुकाम मलङ्गवाबाट पक्राउ परेका छन् ।

हरिवन नगरपालिका–६, घुर्कौलीका २९ वर्षीय अनुक्रम खरेल प्रहरीको नक्कली इन्स्पेक्टर बनेर ठगी गरेको आरोपमा पक्राउ परेका हुन् । सदरमुकाम मलङ्गवा नगरपालिका–१०, मा रहेको सहारा गेष्ट हाउसभित्र एक जना युवकले नेपाल प्रहरीको ब्यूरोबाट खटिएको इन्स्पेक्टर हुँ भन्दै होटल सञ्चालकलाई धाकधम्की दिइरहेको सूचना आएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरिएको थियो ।

प्रहरी टोलीले खरेललाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनी प्रहरीको इन्स्पेक्टर नरहेको भनी खुलेको र उल्टै उनको साथबाट लागुुऔषध बरामद भएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए । आफूलाई प्रहरीको इन्स्पेक्टर भनी ठगी गर्ने खरेलको साथबाट लागुुऔषध स्पास्मो तीन पत्ता (२४ ट्याब्लेट) बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा रहेका खरेललाई सर्लाही जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान अघि बढाइएको डिएसपी राईले बताए ।