सर्लाहीको सदरमुकाम मलंगवामा आईतबार श्रीराम नवमीको पावन अवसरमा भव्य शोभा यात्रा आयोजना गरिएको छ। हर्षोल्लासका साथ सम्पन्न भएको र्‍यालीले सम्पूर्ण नगरलाई धार्मिक वातावरणमा रंग्याएको थियो।

शोभा यात्रामा विभिन्न झाँकी, डोला तथा धार्मिक सन्देशहरूसहितको र्‍याली मलंगवाका प्रमुख चोक र बजार क्षेत्रमा परिक्रमा गराउँदै शान्तिपूर्ण ढंगले सम्पन्न भएको धार्मिक अगुवा लालबाबु रायले जानकारी । नगरवासीहरूको उत्साहपूर्ण सहभागिताले धार्मिक भजन–कीर्तनले सम्पूर्ण वातावरणलाई रमणीय बनाएको थियो।

 

शोभा यात्राको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको थियो। मलंगवाका विभिन्न स्थानमा सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो। र्‍यालीमा मलंगवाका विभिन्न वडा अध्यक्षहरू, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, अनुसन्धान शाखाका प्रतिनिधिहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

सुरक्षा निकायहरूले शोभा यात्रा शान्तिपूर्ण बनाउन उच्च सतर्कता अपनाएको जनाएका छन्। “धार्मिक द्वन्द्व हुन नदिन हामी सदैव सतर्क छौं,” प्रहरी स्रोतले जानकारी दिएको छ।

श्रीराम नवमीको अवसरमा आयोजित यस शोभा यात्राले धार्मिक सहिष्णुता, सामाजिक एकता र सांस्कृतिक समरसताको सन्देश दिएको सहभागीहरू बताउँछन्।