भारतमा विकसित न्यूनचापीय प्रणाली र पश्चिमी तथा स्थानीय वायुको आंशिक असरले काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा आज बादल लागेको छ ।

कोशी प्रदेशबाट भित्रिएको यो प्रणालीको असरले कोशीदेखि लुम्बिनी प्रदेशसम्मका पहाडी जिल्लाहरुमा छिटपुटदेखि हल्का खालको वर्षा हुने सम्भावना समेत छ । वर्षाले अहिलेको प्रदूषणबाट केही राहत मिल्ने छ ।

मौसमविद हरिप्रसाद दाहालले मंगलबार आज अपराह्नदेखि काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा पानी पर्ने सम्भावना रहेको बताए । उनका अनुसार आजको तुलनामा भोलि बुधबार अलि बढी पानी पर्ने सम्भावना छ । ‘पूर्वदेखि पश्चिमसम्मै पहाडी जिल्लाहरुमा वर्षाको सम्भावना छ,’ मौसमविद दाहालले भने, ‘मंगलबार छिटफुट खालको र बुधबार हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।’

उनका अनुसार वर्षाको सम्भावना विहीबारसम्मै छ । यसको प्रभाव भने नेपालका पूर्वी भूभागमा बढी र पश्चिम भूभागमा कम देखिने छ ।