शिक्षकहरूको मागप्रति सरकार गम्भीर नभएको भन्दै सर्लाही जिल्लाबाट सयौँ शिक्षक तथा विद्यालय कर्मचारीहरू बिहिवार बिहान काठमाडौं प्रस्थान गरेका छन्। नेपाल शिक्षक महासंघ चन्द्रनगर गाउँपालिकाका अध्यक्ष सरोज कुमार सिंहको नेतृत्वमा गएको टोलीले आन्दोलनलाई थप सशक्त बनाउने विश्वास गरिएको छ। प्रस्थान अघि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष सिंहले भने, “सरकारको तर्फबाट ठोस पहल नआएसम्म आन्दोलन अझ व्यापक बन्छ। हामी माग सम्बोधन नभएसम्म पछि हट्दैनौं।”

यसअघि पनि सर्लाहीका अन्य पालिकाबाट शिक्षकहरूको टोली काठमाडौं पुगिसकेको छ भने आन्दोलनमा सर्लाहीको उपस्थिति दिन प्रतिदिन व्यापक बन्दै गएको छ। ऐन जारी नभएसम्म आन्दोलन नरोकिने अडान शिक्षकहरूको छ ।

महासंघको नेतृत्वमा २० चैतदेखि काठमाडौंमा शिक्षकहरूले आन्दोलन गरिरहेका छन् । शिक्षकको आन्दोलनका कारण सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ ।