राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत सर्लाहीमा ८५ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ ।

स्वास्थ्य कार्यालय मलङ्गवा सर्लाहीका जनस्वास्थ्य निरीक्षक सुशील झाले आधिकारिक विवरण प्राप्त हुन बाँकी रहे पनि जिल्लाका लागि ८५ हजार क्याप्सुल भिटामिन ‘ए’ आएको र ति सबै क्याप्सुल २० वटै पालिकामा खपत भएको जानकारी दिए । सर्लाहीसहित देशभर हिजो आइतबार र अस्ती शनिबार दुुई दिन छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको हो ।

सर्लाहीमा ११ नगरपालिका र नौ गाउँपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाले घरघरमै पुुगेर तथा चोक, चौतारा, सार्वजनिक स्थल र स्वास्थ्य संस्थामा बसेर बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाएका छन् ।

यस्तै जिल्लामा १ लाख १५ हजार बालबालिकालाई जुकाको औषधि (अल्बेन्डाजोल) समेत खुवाइएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक झाले बताए । स्वास्थ्य कार्यालय सर्लाहीले जिल्लाका सबै पालिकामा उत्साहपूर्ण ढङ्गले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सम्पन्न भएको जनाएको छ ।

हरिवन नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामबाबु चौधरीले अपुुगहोला जस्तो भएपछि हिजो जिल्लाबाट थप १०० क्याप्सुल भिटामिन ‘ए’ ल्याएर बालबालिकालाई खुवाइएको बताएका छन् ।