सर्लाहीमा श्रृङ्खलावद्धरुपमा विद्युत् ट्रान्सफर्मर चोरीका घटना हुन थालेका छन् ।

जिल्लाको बागमती नगरपालिकामा ट्रान्सफर्मर चोरी भएको दुुई साता नबित्दै लालबन्दी नगरपालिकामा पनि ट्रान्सफर्मर चोरी भएको छ । गएराति लालबन्दी नगरपालिका–१७, साहेबगन्जमा सिँचाईका लागि गाडिएको डिप बोरिङमा जडान गरिएको ५० केभी क्षमताको ट्रान्सफर्मर चोरी भएको हो ।

२५ जना भन्दा बढी किसालने २० बिघा जग्गामा सिँचाई गर्दै आइरहेको डिप बोरिङको ट्रान्सफर्मर चोरी भएपछि सिँचाईको समस्या भएको स्थानीय किसान कृष्णप्रसाद देवकोटाले जानकारी दिए । देवकोटाका अनुसार अज्ञात व्यक्तिले ट्रान्सफर्मरको भाँडो त्यहीँ छाडेर भित्र रहेको तामाको तारसहितका सामग्री चोरी गरेर लगेका छन् ।

किसानले खेतमा डिप बोरिङमा जडान भएको ट्रान्सफर्मर चोरी भएको सूचना दिएपछि आज बिहान इलाका प्रहरी कार्यालय लालबन्दीबाट पुुगेको प्रहरी टोली मुचुल्का सङ्कलन तथा प्रारम्भिक अनुसन्धान गरेर फर्किएको छ । लालबन्दी प्रहरीले ट्रान्सफर्मर चोरीमा संलग्न व्यक्तिको खोजी सुरु गरिएको दावी गरेको छ ।

यही बैशाख ५ गते राति मात्रै बागमती नगरपालिका–११, कर्मैयामा सिँचाईका लागि गाडिएको डिप बोरिङमा जडान गरिएको ५० केभीको ट्रान्सफर्मर यसैगरी चोरी भएको थियो ।

प्रहरी अधिकारीले बिजुली प्रवाह भइरहेको ट्रान्सफर्मर चोरीमा संलग्न व्यक्ति प्राविधिक क्षेत्रकै दक्ष व्यक्ति संलग्न हुने सक्ने आशङ्का गरेका छन् ।