मलंगवा नगरपालिका वडा नं. ७ मुसैलीका स्थानीय बासिन्दाहरूले आर्थिक वर्ष २०७९र८० र ०८०र८१ मा सञ्चालन भएका वडा स्तरिय योजनाहरूको विस्तृत विवरण सार्वजनिक गर्न माग गर्दै वडा कार्यालय तथा नगरपालिकामाथि दबाब बढाएका छन्।

स्थानीयहरूका अनुसार विगत दुई आर्थिक वर्षमा कुन योजनामा कति बजेट खर्च भयो र सो अवधिमा वडा कार्यालयमा कति कर्मचारी कार्यरत थिए भन्ने विवरण माग गरिएको हो। यसअघि नै विवेक कुमार यादव, कृष्णा कुमार यादव, राम विश्वास राय, राजदेव राय, रामदास महतो लगायतले वडा अध्यक्ष ईशा मिकरानी समक्ष लिखित रूपमा सूचना माग गरेका थिए।

तर, नौ महिनासम्म कुनै प्रतिक्रिया नआएपछि स्थानीयहरूले वैशाख १४ गते नगरप्रमुख नागेन्द्र प्रसाद यादवलाई निवेदन दिएका थिए। निवेदनपछि नगरप्रमुख यादव र प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले लेखा शाखालाई आवश्यक विवरण उपलब्ध गराउन निर्देशन दिएको जनाइएको छ।

यद्यपि लेखा शाखाबाट अहिलेसम्म सार्वजनिक रूपमा कुनै सूचना नआएको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन्। वडा नं.७ अन्तर्गत छोटकी मुसैली, बडकी मुसैली र गणेशिया गरी तीन टोल पर्ने गरेका छन्।

वडा अध्यक्ष पदका प्रत्यासी समेत रहेका विवेक कुमार यादवले बिहीबार मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा चार दिनभित्र माग गरिएको विवरण सार्वजनिक नगरिए वडा कार्यालय र नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन्।

“जनप्रतिनिधिले सार्वजनिक खर्चमा पारदर्शिता अपनाउनुपर्छ। सूचना माग्नु राजनीतिक आग्रह होइन, जनताको अधिकार हो,” यादवले भने।

स्थानीयहरूका अनुसार पछिल्ला वर्षहरूमा वडा कार्यालयमार्फत सञ्चालित योजनाहरूमा अनियमितता भएको आशंका बढ्दै गएकाले पारदर्शिता कायम गर्न योजना तथा खर्च विवरण सार्वजनिक गर्नुपर्ने माग गरिएको हो।