नेपाल रेडक्रस सोसाइटी चन्द्रनगर उपशाखाले विश्व रेडक्रस दिवसको अवसरमा पहिलोपटक आयोजना गरेको वृहत खुला रक्तदान कार्यक्रम आज सफलता पूर्वक सम्पन्न भएको छ।
कार्यक्रम चन्द्रनगर गाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी र नेपाल शिक्षक महासंघको सहकार्यमा सम्पन्न भएको हो।

आयोजकका अनुसार कार्यक्रममा ६० जनाले स्वेच्छिक रक्तदान गरेका छन्। रक्तदानकर्ताहरूलाई कार्यक्रमकै अवसरमा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजकुमार महतोले यो कार्यक्रम ऐतिहासिक भएको बताउँदै आगामी दिनमा यस्ता मानवीय कार्यहरूलाई गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका सभापति एवं नेपाल रेडक्रस सोसाइटी चन्द्रनगर उपशाखाका अध्यक्ष सरोज कुमार सिंहले पहिलोपटक आयोजना गरिएको रक्तदान कार्यक्रम सफल बनाउनमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था, संचारकर्मी तथा स्वयंसेवकहरूप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा उपस्थित रक्तदातालाई गाउँपालिका अध्यक्ष महतो, सभापति सिंह तथा अन्य जनप्रतिनिधिहरूले सम्मानपत्र प्रदान गरी सम्मानित गरेका थिए।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अमृत चौधरीले सञ्चालन गरेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला उपसभापति शेख अब्दुला, जिल्ला शाखा प्रतिनिधिहरू, चन्द्रनगर गाउँपालिका प्रतिनिधि, सुरक्षा निकायका सदस्यहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमकै अवसरमा चन्द्रनगर उपशाखाको लागि गाउँपालिकाले निर्माण गरिदिएको भवनको उद्घाटन समेत अध्यक्ष महतोद्वारा गरिएको छ।