सर्लाहीको लालबन्दी नगरपालिका २ नवलपुर पाँचकुमारीस्थित नेपाली सेनाको गण फेरिएको छ ।

प्रत्येक ४ वर्षमा गण तथा गुल्म एक ठाउँबाट अर्को ठाउँमा सार्ने नेपाली सेनाको प्रावधान अनुसार नवलपुरस्थित सेनाको गण परिवर्तन भएको हो । ४ वर्षदेखि यहाँ रहेको भैरवीदल गण शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज काठमाठौं जाने भएको छ ।

पाँचकुमारीमा भने नागार्जुनबाट कालिध्वज गण आएको बताइएको छ । गण परिवर्तन भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा भैरवीदल गणका गणपति एवं प्रमुख सेनानी (कर्णेल) सूर्यबहादुर कार्कीलाई बिदाई तथा कालिध्वज गणका गणपति एवं प्रमुख सेनानी (कर्णेल) गोविन्द विष्टलाई स्वागत गरिएको कार्यालयले जनाएको छ ।

सोही कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा भर्खरै सरुवा भएर आएका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्कालाई समेत स्वागत गरिएको छ ।

कर्णेल कार्कीको बिदाई तथा कर्णेल विष्ट र एसपी खड्काको स्वागत कार्यक्रममा सर्लाही जिल्ला अदालतका न्यायाधीश एवं कर्मचारी मिलन केन्द्र सर्लाहीका सल्लाहकार सूर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, राष्ट्रिय अनुसन्धानका उप–अनुसन्धान निर्देशक रामरिझन यादवलगायतको उपस्थिति रहेको थियो ।