जम्मु–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणले भारत र नेपाल दुवैलाई स्तब्ध बनाएको छ। आक्रमणमा २५ जना भारतीय पर्यटक र एक नेपाली नागरिकको मृत्यु भएपछि मधेश प्रदेशका मुख्यमन्त्री सतीश सिंहले गहिरो दुख व्यक्त गर्दै आतंकवादविरुद्ध कडा प्रतिकारको पक्षमा आवाज उठाएका छन्।

मुख्यमन्त्री सिंहले शनिबार फेसबुकको मार्फत ती व्यक्तिहरू केवल नाम र आँकडा होइनन्—उनीहरू कसैका बाबु, आमा, दाजु वा छोरी थिए। ती ज्यानहरूसँगै धेरै सपना पनि मरे।”

भारत सरकारले आक्रमणपछि आतङ्ककारीहरूका लुकाइएका अड्डाहरूलाई लक्षित गर्दै ‘अपरेसन सिन्धूर’ सञ्चालन गरेको छ। यसलाई समर्थन गर्दै मुख्यमन्त्री सिंहले भनेका छन्, “जब कुनै राष्ट्र बारम्बार आतङ्कको निशानामा पर्छ, तब प्रतिकार गर्नु अधिकार मात्र होइन, दायित्व पनि हुन्छ। भारतको यी प्रयासहरू सम्पूर्ण मानवताको सुरक्षाका लागि छन्।”

उनले मधेश प्रदेशको ऐतिहासिक पीडा र संघर्षको सन्दर्भ दिँदै भारतका जनताको पीडासँग आत्मीयता व्यक्त गरे। “मधेश सधैं मानवता, शान्ति र न्यायको पक्षमा उभिँदै आएको छ। आज पनि हामी भारतको दुःखमा साथ छौँ।”

मुख्यमन्त्री सिंहले आतंकवादको कुनै जात, धर्म वा सिमाना नहुने भन्दै यसको प्रतिकार गर्न सबै राष्ट्र एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

“आजको घडीमा चुप लाग्नु होइन, सत्यको पक्षमा बोल्न आवश्यक छ। आतङ्ककारीहरूलाई मौन साथ होइन, खुलेर प्रतिकार चाहिन्छ,” मुख्यमन्त्री सिंहको भनाइ उद्धृत गरिएको छ।