सर्लाही जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्दै नम्बर प्लेट नभएका ट्याक्टरमा सवारी नम्बर लेखाउने तथा ट्रलिको पछाडिपट्टि टल्किने fluorescent स्टिकर टाँस्ने कार्य तीव्र रूपमा अघि बढाएको छ।

हालसम्म १५० भन्दा बढी ट्याक्टरहरूमा सवारी नम्बर र रिफ्लेक्टिभ स्टिकर टाँसिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, सर्लाहीका ट्राफिक प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिएका छन्।

उनका अनुसार, ट्र्याक्टरका कारण हुने दुर्घटनालाई न्यूनीकरण गर्न यो अभियान सुरु गरिएको हो। साथै, चालकहरूलाई ट्राफिक नियम, सडकको सुरक्षित प्रयोग, दुर्घटना न्यूनीकरण, र नियम उल्लंघन गरेमा लाग्ने जरिवाना तथा कारवाहीसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरिएको छ।

ट्राफिक प्रहरी निरीक्षक घिमिरेले जनचेतना र सुरक्षामैत्री वातावरणको विकासमार्फत सडक सुरक्षालाई मजबुत बनाउने उद्देश्यले यो अभियान निरन्तर अघि बढाइने जानकारी दिए।