सर्लाही जिल्लामा आत्महत्याका घटनाहरू दिनप्रतिदिन बढ्दै गएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, पछिल्लो एक वर्षमा जिल्लाभर १२९ जनाले आत्महत्या गरेका छन्। तीमध्ये ५२ जना महिला, ४७ पुरुष, २६ बालिका, र ४ बालक रहेका छन्।

जिल्लाका २० पालिकामध्ये सबैभन्दा धेरै आत्महत्याका घटना हरिपुर नगरपालिका र बरहथवा नगरपालिकामा देखिएका छन्, जहाँ प्रत्येकमा १९/१९ जनाले आत्महत्याको बाटो रोजेका छन्। बाँकी पालिकाहरूमा पनि आत्महत्या भएका छन् ।

विश्लेषकहरूका अनुसार आत्महत्याका प्रमुख कारणहरूमा मानसिक तनाव, पारिवारिक विबाद, घरेलु हिंसा, नशालु पदार्थको प्रयोग, प्रेम सम्बन्धमा असफलता, र आर्थिक संकट रहेका छन्। विशेष गरी किशोर किशोरी र महिलामा आत्महत्या दर उच्च देखिएको छ।

मनोरोग विशेषज्ञहरूको भनाइमा आत्महत्या न्युनिकरणका लागि सामुदायिक स्तरमा मानसिक स्वास्थ्य सचेतना, विद्यालयमा परामर्श सेवा, र पालिकास्तरीय आकस्मिक सहायता केन्द्र स्थापना आवश्यक छ।

यदि यस्ता गम्भीर सामाजिक समस्याप्रति समयमै ध्यान नदिइए सर्लाही जस्ता जिल्लामा आत्महत्याको संकट अझ भयावह हुने तथ्यांकले देखाउँछ ।