सर्लाही, बलरा नगरपालिका–१० सर्लाही जिल्लाको बलरा नगरपालिका–१० स्थित सुदामा गाउँमा दुसाध हजारी समुदायभित्रका दुई समूहबीच भएको झडपमा दर्जनौं व्यक्ति घाइते भएका छन्। पीडित पक्षले आक्रमणमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।

पीडितहरूका अनुसार, सामान्य विवादलाई लिएर अर्को पक्षका व्यक्तिहरू समूहमा आएर गालीगलौज, जातीय अपमान तथा कुटपिट गरेका थिए। सुदामा निवासी मुकेश हजारीले जानकारी दिएअनुसार, “हामीमाथि पटक–पटक योजनाबद्ध रूपमा ज्यान मार्ने नियतले आक्रमण हुँदै आएको छ। यस पटक त उनीहरू फलामको रड, घरेलु हतियारसहित आएका थिए र गम्भीर चोट पुर्‍याएका छन्।”

झडपमा केही गम्भीर घाइतेसहित दर्जनौं व्यक्तिहरू प्रभावित भएका थिए। उनीहरूको उपचार मलंगवा स्थित प्रादेशिक अस्पताल तथा जनकपुरका विभिन्न अस्पतालहरूमा गरिएको थियो र हाल सबै घाइतेहरू घर फर्किसकेका छन्।

घटनापछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा निवेदन दिंदै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्। मुकेश हजारीका अनुसार, विपक्षी समूहका विबेक हजारी, शिवचन्द्र हजारी, सुरेन्द्र हजारी, सुबोत्र हजारी, दिनेश हजारी लगायतका नाम उल्लेख गरी निवेदन पेश गरिएको हो।

घटनाका दिन इलाका प्रहरी कार्यालय गरहिया डुमरियाबाट खटिएको प्रहरी टोलीले अवस्था नियन्त्रणमा लिन कठिनाइ भएपछि सशस्त्र प्रहरी बलसमेत परिचालन गरिएको थियो। पीडितको भनाइअनुसार, झडपकै दिन विपक्षी पक्षले गोठालोमा आगजनी समेत गरेका थिए।