नेपाली कांग्रेसका नेता हरिनन्दन यादवमाथि आज दिउँसो गोली प्रहार भएको छ। उनी मलंगवाबाट आफ्नाे घर फर्किंदै गर्दा सर्लाहीको गोडैता नगरपालिका–६, बगदहस्थित चिनी मिल नजिक १०–१५ जनाको समूहले सवार स्कारपियो गाडीलाई घेराउ गरी तीन राउन्ड गोली प्रहार गरेको यादवले दाबी गरेका छन्।

गोली स्कारपियोको ढोकातर्फ लागेपछि गाडी अनियन्त्रित भइ दुर्घटनामा परेको हो। नेता यादव भने सकुशल रहेका छन्। उनले यो घटना राजनीतिक प्रतिशोधस्वरूप पूर्वयोजना अनुसार भएको आरोप लगाएका छन्।

यादवले सो हमला शिवपुजन यादवका आफन्त तथा कार्यकर्ताहरूको समूहले मिलेर गरेको दाबी गर्दै दोषीलाई छानबिन गरी कडा कारबाहीको माग गरेका छन्।

घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।