नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) जनज्योति बहुमुखी क्याम्पस इकाई समिति लालबन्दीले विद्यालयको छेउछाउमा सुर्तीजन्य, धुम्रपानजन्य र मदिराजन्य वस्तुको बिक्री वितरणमा रोक लगाउन माग गरेको छ ।

नेविसंघको क्याम्पस इकाई समितिले हिजो इलाका प्रहरी कार्यालय लालबन्दीमा ज्ञापन पत्र बुुझाउँदै यस्तो माग राखेको हो । जनज्योति माध्यमिक विद्यालय र जनज्योति बहुमुखी क्याम्पस आसपासका पसलबाट खुलेयामरुपमा यि वस्तुको बिक्री भइरहेको भन्दै नेविसंघले प्रहरीको ध्यानाकर्षण गराएको छ । यसले विद्यार्थीको स्वास्थ्य र भविष्यमा नकारात्मक असर परिरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सुर्तीजन्य तथा मदिराको सहज उपलब्धताले विद्यार्थीहरु कुलतमा फस्ने सम्भावना बढेको र उनीहरुको शैक्षिक वातावरण तथा व्यक्तिगत जीवनमा गम्भीर चूनौति निम्त्याएको भन्दै विद्यमान कानून बमोजिम विद्यालय आसपास अर्थात् १०० मिटर भित्रका पसलमा सुर्तीजन्य, मदिरा र धुम्रपानजन्य वस्तुको बिक्री वितरण रोक्न नेविसंघले प्रहरी समक्ष माग गरेको छ ।

नेविसंघको क्याम्पस इकाइ समितिका सभापति निर्मल अधिकारी (सफल) ले हस्ताक्षर गरी इलाका प्रहरी कार्यालय लालबन्दीलाई बुुझाएको ज्ञापन पत्रमा आफूहरुको अनुरोधलाई गम्भीरतापूर्वक लिई यथाशीघ्र उचित कदम चाल्न माग गरिएको छ ।