शिवन फुनिया देवी जनता माध्यमिक विद्यालय, पिपरा नौकेलबा गम्भीर व्यवस्थापकीय संकट देखापरेको छ। विद्यालयको शिक्षण गुणस्तर, भौतिक पूर्वाधार, र प्रशासनिक कामकाजमा व्यापक समस्या देखिएपछि स्थानीय तह, अभिभावक र पूर्व जनप्रतिनिधिहरूले सार्वजनिक रूपमा चिन्ता व्यक्त गरेका छन्।

विद्यालयका प्रधानाध्यापक बसुदेव रायमाथि गैरजिम्मेवारी र समन्वयहीनताको आरोप लागिरहेको छ। उनका अनुसार, शिक्षक दरबन्दीको अभाव, पालिकाबाट पर्याप्त बजेट नआएको, र स्रोतसाधनको कमीले विद्यालय सुधारमा अवरोध पुर्याएको छ। “बाउन्ड्री वाल निर्माणदेखि अन्य पूर्वाधारका काम रोकिएका छन्,” रायले जानकारी दिए।

तर, ब्रह्मपुरी गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत उपेन्द्र राउतले भने विद्यालय प्रशासनकै चासोको कमी समस्याको मूल जड भएको बताएका छन्। “गाउँपालिका विद्यालय सुधारका लागि प्रतिबद्ध छ, तर विद्यालय प्रशासनले जिम्मेवारीपूर्वक काम नगर्दा यस्तो अवस्था आएको हो,” उनले भने।

प्रमुख राउतले विद्यालयका लागि दिइएको कम्प्युटर सामग्री चोरी भएको विषयमा सुरक्षा व्यवस्था असफल भएको स्वीकार गर्दै यसलाई व्यवस्थापनको कमजोरीको रूपमा उल्लेख गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामछविला यादव, पूर्व वडाअध्यक्ष श्यामबाबु राय, र स्थानीय अभिभावकहरूले विद्यालयमा दिवा खाजा कार्यक्रम रोकिएको, कम्प्युटर कक्षा लामो समयदेखि बन्द रहेको, र नयाँ शैक्षिक सत्र सुरु भइसकेपनि खाजा वितरण नगरेको गुनासो गरेका छन्। उनीहरूले पूर्व नगरप्रमुख विनोद साह र वर्तमान गाउँपालिका अध्यक्षले विद्यालयप्रति आवश्यक चासो नदिएको आरोप पनि लगाएका छन्।

यसबीच, सञ्चारकर्मीहरूलाई जवाफ दिँदै प्रधानाध्यापक बसुदेव रायले सबै कमजोरी सुधार्ने प्रतिबद्धता व्यक्त गरे। “दिवा खाजा कार्यक्रम तुरुन्तै सुरु गरिनेछ, र बाँकी पक्ष सुधार गर्दै अगाडि बढ्नेछु,” रायले आश्वासन दिए।

स्थानीयबासीहरू विद्यालयको वर्तमान अवस्था प्रति चिन्तित छन् र सम्बन्धित निकायलाई तत्काल विद्यालयको शैक्षिक वातावरण सुधार गर्न आग्रह गरेका छन्।