विवादित धर्मगुरु रामबहादुर बम्जन भनिने रामलाल बम्जन पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

‘लिटिल बुद्ध’ समेत भनेर चिनिने बम्जनलाई सम्पत्ति शुद्धिकरण मुद्दामा सर्लाही जिल्ला अदालतले पुर्पक्षमा कारगार चलान गर्न आदेश दिएको हो । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको सर्लाही जिल्ला अदालतका सूचना अधिकारी सिकिन्दर कापरले जानकारी दिए ।

गएसाँझ प्राप्त अदालतको आदेश बमोजिम बम्जनलाई राति नै सर्लाही सदरमुकामस्थित मलङ्गवा कारागार चलान गरिसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सर्लाही जिल्ला अदालतका सूचना अधिकारी कापरका अनुसार सम्पत्ति शुद्धिकरण कसुरमा विवादित धर्मगुरु बम्जनमाथि गएको फागुन ५ गते अदालतमा मुद्दा दर्ता भएको थियो ।

बम्जनविरुद्ध यसअघि सर्लाही जिल्ला अदालतले अनुयायी अर्थात् आनीमाथिको यौन दुराचार मुद्दामा २०८१ असार १० गते १० वर्ष कैद र पाँच लाख रुपियाँ क्षतिपूर्तिको सजाय तोकेको थियो । उच्च अदालत जनकपुरले गएको चैत ६ गते सर्लाही जिल्ला अदालतको फैसला उल्ट्याउँदै बम्जनलाई कारागारमुक्त गरेको थियो ।

बम्जनलाई सम्पत्ति शुद्धिकरण मुद्दामा सर्लाही जिल्ला अदालतले पुनः कारागार चलानको आदेश दिएको हो । मुद्दा सुनुवाईको क्रममा विवादित धर्मगुरु बम्जन सर्लाही जिल्ला अदालतमा आउँदा हिजो दिनभर सदरमुकाम मलङ्गवामा ठूलो सङ्ख्यामा उनका अनुयायी भेला भएका थिए ।