सर्लाहीको लालबन्दी नगरपालिका–२, पुर्नवासमा १४५ जनाको स्वास्थ्य परीक्षण गर्दा १४ जनामा क्षयरोग अर्थात् टिबी देखा परेको छ ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र पुर्नवासमा क्षयरोग जोखिमयुक्त समुदायमा क्षयरोग खोजपर्ताल घुम्ती शिविर अन्तर्गत हिजो एक्सरेसहित स्क्रिनिङ गर्दा १४ जना क्षयरोगी पत्ता लागेका हुन् । लालबन्दी २ मा यसअघि गएको साउनदेखि हालसम्म १९ जना क्षयरोगी फेला परेका थिए ।

हिजो थप १४ जनामा क्षयरोग पुष्टी भएसँगै वडाभित्र क्षतियोगीको सङ्ख्या ३३ पुगेको छ । स्वास्थ्यकर्मीले यो रिपोर्टका अनुसार पुर्नवास क्षेत्र क्षयरोगको ‘हटस्पर्ट’ नै बनिसकेको बताएका छन् । नयाँ फेला परेका क्षयरोगीको हिजैदेखि उपचार सुरु भइसकेको आधारभूत स्वास्थ्य सेवा केन्द्र पुर्नवासका प्रमुख सन्तोषकुमार साहले जानकारी दिए ।

साहका अनुसार एक्सरे गर्दा क्षयरोग पत्ता लागेका बिरामीको यसअघि खकार परीक्षण गरिएको थियो । उनीहरुमा लक्षण अनुसार प्रदेश जनस्वाथ्य प्रयोगशाला जनकपुरधामसँग समन्वय गरी एक्सरे सुविधा रहेको भ्यान लिएर एक्सरे विधिबाट परीक्षण गर्दा क्षयरोग पुष्टी भएको हो ।

 

लालबन्दी नगर अस्पतालका डा. चन्दन चौधरी र डा. बोधराज बुढाथोकीसहितका स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गर्दा थप १० जना बिरामीलाई खकार परीक्षणसहित विशेष जाँचका लागि नगर अस्पताल डुमडुमे रेफर गरेको छ । खोकी लाग्नु, खोक्दा रगत वा खकार निस्कनु, ज्वरो आउनु, राति सुत्दा पसिना आउनु, शरीरको तौल घट्नु, थकाइ लाग्नु क्षयरोगको प्रमुख लक्षण हो ।

क्षयरोगबाट सङ्क्रमण भएको रोगी मानिसले खोक्दा, हाछ्यूँ गर्दा वा कुरा गर्दा उसको मुख वा नाकबाट हावामा क्षयरोगको ब्याक्टेरिया फैलने र अर्को व्यक्तिले श्वास फेर्दा आफ्नो फोक्सोमा त्यो ब्याक्टेरिया निलेमा रोग सर्ने चिकित्सकले बताएका छन् ।

क्षयरोगको उपचार र औषधि सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क प्रदान हुँदै आएको छ ।