सर्लाहीको बरहथवामा ५ बुँदे माग राखेर आमरण अनसनमा बसेका जनमत पार्टीका नगर अध्यक्ष राजन सिंहले आज दिउँसोबाट अनसन स्थगित गरेका छन् ।

सिंहका समर्थक, बरहथवा नगरपालिकाका प्रमुख कल्पनाकुमारी कटुवाल, उपप्रमुख रामबाबुप्रसाद साह र अन्य सरोकारवालाबिच भएको वार्तामा सिंहले उठाएका ५ बुँदे माग सम्वोधन गर्ने सहमती भएपछि अनसन तोडिएको हो । सहमतीपछि सिंहलाई नगर प्रमुख कटुवाल र जनमत पार्टीका जिल्ला इन्चार्ज श्रीचन यादव (सुजन) ले जुस पिलाएर अनसन तोडाएका छन् ।

जेठ २९ गतेदेखि नगरपालिका कार्यालय अगाडि आमरण अनसनमा बसेका सिंह स्वास्थ्य अवस्था खराब भएपछि नगर अस्पताल बरहथवामा भर्ना भएका थिए । सिंहले डेढ वर्षअघि बरहथवामा गोली लागेर मृत्यु भएका जयशङ्कर साहको सालिक निर्माण गर्नुपर्ने, जयशङ्करकै नामबाट नगर अस्पतालको नामाङ्करण गर्नुपर्ने, बरहथवा नगर अस्पतालबाट सरकारले तोकेको निःशुल्क औषधि उपलब्ध गराउनु पर्ने, बरहथवा नगरपालिकाको तीन वर्षको आय–व्यय विवरणसहित सार्वजनिक गर्नुपर्ने र नगर अस्पताल निर्माण गर्न निकास गरिएको बजेटको खर्चको अवस्था सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

नगरप्रमुख कटुवालले सालिक निर्माणका लागि बजेट नै बिनियोजन भइसकेको र अस्पतालको नामाङ्करणका सम्वन्धमा निर्माण व्यवसायीले नगरपालिकालाई हस्तान्तरण गरेपछि पहल अघि बढाउने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

त्यस्तै मेयर कटुवालले औषधिको व्यवस्थापनमा नगरपालिका गम्भीर रहेकाले त्यसमा लागि पर्ने र आय–व्यय नियम अनुसार उपलब्ध गराउने प्रतिवद्धता जनाएपछि जनमतका नगर अध्यक्ष सिंह अनसन तोड्न सहमत भएका छ्न ।