कविलासी नगरपालिका-७ गैर बजारस्थित आयुर्वेद औषधालयमा मंगलवारदेखि पाँच दिवसीय योग प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ। “योग गरौं, निरोग रहौं” भन्ने मूल नारासहित सुरु गरिएको कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष धर्मेन्द्र राय यादवको अध्यक्षता र कविलासी नगरपालिकाका प्रमुख ब्रह्मदेव रायको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो।

कार्यक्रममा उपप्रमुख पुनम कर्ण, प्रमुख प्रशासकीय अधिकृत राजकिशोर महतो, स्वास्थ्य शाखा प्रमुख संजय झा, साथै अन्य जनप्रतिनिधिहरू र स्थानिय समुदायको विशेष उपस्थिति रहेको थियो।

आयुर्वेद निरीक्षक रामबिश्वास रायका अनुसार उक्त कार्यक्रम असार ७ गतेसम्म सञ्चालन हुनेछ। बिहान ६ बजेबाट सुरु हुने प्रशिक्षणमा पतंजली योग समितिका प्रशिक्षकद्वय त्रिलोकेन्द्र यादव र नरेश ठाकुरले प्रशिक्षण दिनेछन्।

कार्यक्रमको आयोजना कविलासी नगरपालिकाको आयुर्वेद शाखाले गरेको हो। योग अभ्यासमार्फत नागरिकहरूलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।