सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोष्टबाट प्रहरीले शंकास्पद बिल-बिजक भएका ४२ लाखभन्दा बढी मूल्यका सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यालय कर्मैयाका अनुसार विशेष सूचनाको आधारमा प्रहरी नायव निरिक्षक सुभाष यादवको कमान्डमा खटिएको प्रहरी टोलीले बिरगंजबाट ईटहरीतर्फ जाँदै गरेको बा.५ ख ३०७ नम्बरको ट्रक (डब्बा)लाई रोकेर जाँच गर्दा ट्रकमा रहेको विभिन्न प्रकारका खुद्रा सामानहरूको बिल-बिजक शंकास्पद देखिएको थियो।

ट्रकमा टायर, छर्ने औषधी, मोबिल, खाने तेल, रेगुलेटर, मोटर पार्ट्स, घिउ, किसमिस, छाता, कस्मेटिक, इलेक्ट्रोनिक सामग्रीलगायतका विभिन्न सामग्री लोड गरिएको प्रहरीले जनाएको छ।

उक्त सामानहरूको अनुमानित मूल्य ४२ लाख ४० हजार ३४७ रुपैयाँ रहेको छ। ट्रक र सामान दुवैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको ईलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ।