चन्द्रनगर गाउँपालिकाको आयोजनामा नव नियुक्त स्वयंसेवक शिक्षकहरूलाई एक भव्य कार्यक्रमका बीच बधाई, स्वागत तथा सम्मान गरिएको छ।

शुक्रबार चन्द्रनगर गाउँपालिका–३ बडकुर्वास्थित श्री राम जनता आधारभूत विद्यालयको परिसरमा आयोजित कार्यक्रममा नव नियुक्त स्वयंसेवक शिक्षक अनिल कुमार महतो, भूपेन्द्र महतो, मिना कुमारीप्रतिमा कुमारीलाई विद्यालय परिवारको तर्फबाट सम्मान गरियो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार महतो प्रमुख अतिथि रहनु भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार यादव, प्रशासन शाखा प्रमुख कृष्णप्रसाद आचार्य विशिष्ट अतिथिको रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रमको अध्यक्षता वडा नं. ३ का वडा अध्यक्ष सीताराम महतोले गर्नु भएको थियो।

विद्यालयका प्रधानाध्यापक सरोज कुमार सिंहका अनुसार, गाउँपालिकाले स्थानीय स्तरमा शिक्षा क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले स्वयंसेवक शिक्षक नियुक्त गरेको र उनीहरूको स्वागत तथा सम्मान विद्यालय समुदायको कर्तव्य भएको बताउनुभयो। उहाँले नव नियुक्त शिक्षकहरूलाई विद्यार्थीको भविष्य निर्माणमा समर्पित भई इमानदारीपूर्वक काम गर्न आग्रह गर्नुभयो।