भारतको बिहारस्थित सितामढीबाट हराएकी एक नेपाली बालिकालाई सर्लाही प्रहरीले सकुशल उद्धार गरी नेपाल फर्काएको छ। ईलाका प्रहरी कार्यालय कर्मैयाका इञ्चार्ज प्रहरी सई सुवास यादवको सक्रियता र भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा बालिकाको सफल उद्धार गरिएको हो।

सर्लाही चक्रहरिया गाउँपालिका–खोरिया निवासी बालिका जेठ २२ गते हराएकी थिइन्। भारतको सितामढीमा आमासँग बस्दै आएकी बालिकाको खोजीका लागि आमाले जिल्ला प्रहरी कार्यालयमार्फत निवेदन दिएकी थिइन्। प्रारम्भिक अनुसन्धानमा मदनपुरका विवेक गिरीसँगको सम्बन्धका कारण हराएको हुन सक्ने देखिएको प्रहरीले जनाएको छ।

बालिकाको खोजीका लागि सूचना प्रविधिको प्रयोग गर्दै तीव्र सुराकी संकलन गरिएको थियो। खोजतलासको क्रममा बालिका सितामढीमै रहेको पुष्टि भएपछि भारतीय प्रहरीसँग समन्वय गरी उद्धार गरिएको ईञ्चार्ज यादवले जानकारी दिए। उद्धारपछि बालिकालाई नेपाल ल्याई परिवारको जिम्मा लगाइएको छ।

डिएसपी सरोज राईका अनुसार, “समन्वयमा काम गर्दा यस्ता जटिल समस्या सजिलै समाधान गर्न सकिन्छ।” घटनामा संलग्न रहेको आशंकामा विवेक गिरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्थानीय वडा नं. ९ का अध्यक्ष विजय कुमार यादवले प्रहरीको सक्रियता प्रशंसनीय रहेको बताए। यस्ता प्रयासले प्रहरीप्रति जनविश्वास बढाउने उनको भनाइ छ।

यसअघि पनि प्रहरी सई सुवास यादवले जिल्ला प्रहरी कार्यालय सर्लाहीअन्तर्गत महिला तथा बालबालिका सेवा कक्षमा कार्यरत रहँदा २५ जना नेपाली बालबालिकालाई भारतबाट सकुशल उद्धार गरिसकेका छन्। साथै, विभिन्न समयमा १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी सम्बन्धित निकायमा बुझाइसकेका छन्।

निरन्तर सक्रियता, सहकार्य र व्यावसायिक निष्ठाको आधारमा सई सुवास यादवको भूमिका सुरक्षा तथा समाजप्रति प्रतिबद्ध र प्रेरणादायी देखिन्छ।