सर्लाही जिल्लाका सबै २० वटा स्थानीय तहहरूलाई २०८१/८२ को मूल्याङ्कनको आधारमा पूर्ण खोप सुनिश्चित नगरपालिका/गाउँपालिका घोषणा गरिएको छ।

पूर्ण खोप सुनिश्चिततामा उल्लेखनीय योगदान पुर्‍याएकोमा सम्बन्धित नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरू, स्वास्थ्य शाखा प्रमुखहरू, भ्याक्सिनेटरहरूलाई प्रमाण–पत्र, प्रशंसा–पत्र, सम्मान–पत्र तथा वाल घडी उपहार प्रदान गरिएको स्वास्थ्य कार्यालय सर्लाहीले जानकारी दिएको छ।

जिल्ला खोप समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहको अध्यक्षतामा मलगंवास्थित होटल कुसुम प्यालेसमा आयोजना गरिएको कार्यक्रममा इश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार आचार्य, विष्णु गाउँपालिकाका अध्यक्ष जबाहरलाल यादव, हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलान, नेपाल रेडक्रस सोसाइटी जिल्ला सभाति नागेन्द्र प्रसाद चौधरी,युएनएफपीएका बचा महतो, विश्व स्वास्थ्य संगठनका डा. राजीव शर्मा, मानव अधिकारकर्मी मुकेश मिश्र लगायत विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख नवल किशोर झाले जिल्लाका सबै २० वटा पालिकाहरू पूर्ण खोप सुनिश्चित घोषणा भइसकेको जानकारी दिनुभयो। उहाँले यस उपलब्धिमा योगदान दिने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्ने अपेक्षा व्यक्त गर्नुभयो।

उक्त कार्यक्रमको आयोजना मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको हो।