सर्लाही जिल्लामा यूवा प्रतिभा तथा वैज्ञानिक पहिचान र प्रोत्साहन कार्यक्रम अन्तर्गत तीन दिने जिल्ला स्तरीय विज्ञान प्रदर्शनी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। प्रदर्शनी कार्यक्रम असार २० देखि २२ गतेसम्म लालबन्दीस्थित जनज्योती माध्यमिक विद्यालयमा सञ्चालन गरिएको थियो।

कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा वैज्ञानिक सोचको विकास गर्नुका साथै विद्यालय स्तरमै उनीहरूद्वारा निर्माण गरिएका वैज्ञानिक उपकरण तथा सामग्री सार्वजनिक रूपमा प्रदर्शन गराउनु रहेको थियो।

शिक्षा तथा संस्कृति मन्त्रालय, मधेश प्रदेशको सहयोगमा मुनाल सामुदायिक संस्था, बरहथवाको आयोजनामा सम्पन्न कार्यक्रममा सर्लाहीका विभिन्न विद्यालयका ९० जना सहभागी विद्यार्थी, शिक्षक, निर्णायक, प्रशिक्षकहरूको सहभागिता थियो।

कार्यक्रमको उद्घाटन लालबन्दी नगरपालिका प्रमुख वासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। ३०० भन्दा बढी अवलोकनकर्ता विद्यार्थी र शिक्षकहरूले प्रदर्शनी हेरेका थिए।

प्रतिस्पर्धात्मक भागमा महादेव जनता मा.वि. हरिवनले प्रथम स्थान,

जनज्योती मा.वि. लालबन्दीले दोस्रो,र दुर्गा जनता मा.वि. धनकौलले तेस्रो स्थान हासिल गरे।

विजयी विद्यालयलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने सबै सहभागी विद्यार्थीहरूलाई पनि मेडल र प्रमाणपत्र वितरण गरिएको थियो।