डिभिजन वन कार्यालय सर्लाहीले शनिवार  जिल्लाका सञ्चारकर्मीलाई लक्षित गरी वन क्षेत्र निरीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न गरेको छ।

कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न योजना तथा नियमितरूपमा गरिँदै आएका कार्यबारे जानकारी दिने उद्देश्यसहित पत्रकारलाई अनुगमनमा लगिएको हो। पत्रकारहरूले डिभिजन वनको वृक्षरोपण क्षेत्र, उत्पादन गरिएका विरुवा नर्सरीहरू, माछा पोखरी निर्माणस्थललगायतका विभिन्न वन क्षेत्र अवलोकन गरेका थिए।

कार्यक्रमका क्रममा डिभिजन वन प्रमुख सन्तोषकुमार झाले सञ्चारकर्मीलाई बागमती क्षेत्रमा वन अतिक्रमण गरी बनाइएको भरत ताल सम्बन्धी अगाडि बढिरहेको वन मुद्दाको प्रगति, सर्लाहीका विभिन्न स्थानमा गरिएको अतिक्रमण हटाउने अभियान, काठ तस्करी नियन्त्रणका लागि चालेका कदमहरू, साथै लखन्देही लखाधार संरक्षण तथा विकास योजनामा भइरहेको कामबारे विस्तृत जानकारी दिएका थिए।

अनुगमन कार्यक्रममा डिभिजन वन कार्यालयका अधिकृत तथा कर्मचारीहरूका साथै सर्लाहीका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको उपस्थिति रहेको थियो।

डिभिजन वन कार्यालयले यस किसिमको निरीक्षण कार्यक्रमले वन संरक्षणमा सञ्चारमाध्यमको भूमिका थप प्रभावकारी हुने विश्वास लिएको जनाएको छ।