सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा आजदेखि सेवा सूचारु भएको छ ।

गएको सोमबार सवारी दुर्घटनामा परेर घाइते भइ उपचारका लागि आएका एक जना बिरामीका आफन्तबाट अस्पतालका अर्थोपेडिक डा. कृष्णजङ्ग साहमाथि हातपात भएपछि अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले दोषीलाई कारवाही तथा शान्ति, सुरक्षाको माग गर्दै मंगलबारदेखि आकस्मिकबाहेकका सेवा ठप्प पारेका थिए । जिल्ला प्रहरी कार्यालयमा हिजो भएको छलफलमा दोषी व्यक्तिहरुले माफी मागेपछि आन्दोलित चिकित्सक र स्वास्थ्यकर्मी नियमित काममा फर्किन तयार भएका हुन् ।

अस्पतालका सूचना अधिकारी डा. अविनाश सिंहले जिल्ला प्रहरी कार्यालयमा भएको सहमती अनुसार आफूहरु आज बिहानैदेखि काममा फर्किएको बताए । अस्पतालमा २ दिन लगातार ओपिडीसहितका सेवा ठप्प हुँदा बिरामी मारमा परेका थिए । तेस्रो दिनमा आजदेखि खुलेको अस्पतालमा ओपिडीसहित अन्य विभागमा बिरामीको अत्यधिक चाप देखिएको छ ।

सरकारी स्वामित्वको प्रादेशिक अस्पताल बन्द भएको मौकामा अस्पतालको गेटबाटै मलंगवाका निजी अस्पताल तथा क्लिनिकले बिरामी तानातान गरिरहेका देखिन्थ्यो । सोमबार राति चिकित्सकमाथि हातपात भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ठाडो उजुरी परेको थियो । हिजो साँझसम्म भएको छलफलमा चिकित्सकमाथि हातपात गर्ने व्यक्तिहरुले माफी मागेपछि उनीहरुविरुद्धको थप कारवाही अघि नबढाउने सहमती भएको छ ।

प्रादेशिक अस्पताल मलंगवामा यसरी चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि बारम्बार हातपात र दुर्व्यवहार हुँदै आएकाले शान्ति, सुरक्षाको माग भने राखिरहेको अस्पतालका मेडिकल सुपरिटेडेन्ट (मेसु) डा. सन्जिवकुमार सिंहले बताएका छन् ।