बढ्दो सुक्खापनका कारण खानेपानीको अभाव बढेपछि सर्लाहीको ईश्वरपुर नगरपालिका १० मा ‘वार्टर ब्याग’ मार्फत खानेपानी वितरण गर्न सुरु गरिएको छ ।

ग्रामीण नारी उत्थान संघ हरिपुरले सेभ द चिड्रेनसँग समन्वय गरी ईश्वरपुर १० का मुसहर, चमार र सीमान्तकृत समुदायलाई मधेश प्रदेशमै पहिलो पटक वार्टर ब्यागमा पानी जम्मा गरेर वितरण गर्न सुरु गरेको हो । ६ हजार र १० हजार लिटर क्षमताको वार्टर ब्याग प्रदान गरेर ईश्वरपुर खानेपानी संस्थासँग समन्वय गरी पानी जम्मा पारेर टोल बस्तीमा वितरण गर्न सुरु गरिएको ग्रामीण नारी उत्थान संघका सचिव सूर्यप्रसाद चालिसेले बताए ।

संस्थाले बस्तीमा स्थानीयलाई पानी राख्ने ६० लिटरको एक/एक थान ड्रम र पानी शुद्धिकरण गर्ने औषधि समेत प्रदान गरेको चालिसेले बताए । संस्थाले ईश्वरपुर १० मा खानेपानीको समस्या समाधानका लागि २८० फिटको २ वटा डिप बोरिङ जडान गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

वार्टर ब्याग वितरण कार्यक्रममा ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य, ईश्वरपुर १० का वडाध्यक्ष राशनारायण चौधरी, सेभ द चिडे«न बर्दिवास फिल्ड कार्यालयका प्रमुख धना भुसाल, कार्यक्रम प्रमुख उमेशकुमार गुप्तालगायत सहभागी हुनुभएको समुन्नति परियोजनाका संयोजक दीपक भण्डारीले जानकारी दिए ।