सर्लाहीको चुरेभेगमा यातायातका साधन चल्न छाडेपछि स्थानीय समस्यामा परेका छन् ।

सडक नपुगेको चुरेभेगका विकट क्षेत्रमा बाढी आएर खोलाबाट गाडी चल्न छाडेपछि जनजीवन कष्टकर बन्न थालेको हो । सर्लाहीको कर्णाली भनिने लालबन्दी नगरपालिका–१४, नारायणखोलामा बस चल्न छाडेको एक महिना भन्दा बढी भइसकेको छ ।

लखन्देही र डाइनी खोलामा बाढी नआएको समयमा खोलाको बगरबाट मुस्किलले ट्याक्टर सञ्चालन हुने गरेका छन् । स्थानीय जोखिमपूर्ण हिसाबले ट्याक्टरमै चढेर बजारसम्म आउजाउ गर्ने गरेका छन् ।

केही दिनदेखि पानी परिरहेकाले ट्याक्टर समेत चल्न नसकेको नारायणखोलाका शिक्षक उत्तरकुमार गुर्मछान (राजन) ले जानकारी दिनुभयो । कुनै पनि सवारी साधन सञ्चालन नहुँदा सिन्धुलीको मरिण गाउँपालिकासँग सीमा जोडिएको नारायणखोलाबाट बिरामी र गर्भवतीलाई दुई/तीन घण्टा झोलुङ्गोमा हालेर गाडी चल्ने ठाउँ पत्थरकोटसम्म ल्याउनुपर्ने बाध्यता सुरु भएको शिक्षक गुर्मछानले  बताए ।

चुरेभेगमा वर्षायामभर वर्षेनि यस्तै समस्या दोहोरिने गरेको उनको गुनासो छ । बस व्यवसायी समेत रहेका लालबन्दी नगरपालिका १४ का वडाध्यक्ष छेनामसिंह घिसिङले पानी पर्न रोकिए दशैँको मुखतिर मात्रै गाडी सञ्चालन गर्न सक्ने सम्भावना रहेको जानकारी दिए ।

भौगोलिक हिसाबले विकट र चुरेपाखामा मात्रै बस्ती रहेको नारायणखोलामा सडक ट्रयाक खोलिए पनि सफल हुन सकेको छैन् । एक सातादेखि बेलाबेलामा वर्षा भइरहँदा सर्लाहीको चुरेभेगका अन्य क्षेत्रमा पनि यातायात आवागमन ठप्प भएको छ ।

पानी नपरुन्जेल मोटरसाइकल सञ्चालन भइरहेका थिए । अहिले खोलामा बाढी आइरहने गरेकाले पैदल हिँडेर गाडी चल्ने ठाउँसम्म आउन समेत समस्या परेको स्थानीयले गुनासो गरेका छन् ।

बाढी आउन थालेपछि कालिन्जोर, फूलजोर र बाँके खोला भएर लालबन्दी नगरपालिकाकै वडा नं. १२ को शिर कालिन्जोर, भित्री खोला तथा ईश्वरपुर नगरपालिकाको पिपलदमार क्षेत्रमा सञ्चालन हुने बस, बोलेरो र ट्याक्टर पनि ठप्प भएका छन् । ईश्वरपुर नगरपालिका–१२, घारिबथानका वडाध्यक्ष देविबहादुर खत्री (शिव) ले माथि चुरेक्षेत्रका स्थानीयले अहिले मोटरसाइकल तथा अन्य सवारी साधन तल फेदीमै राखेर हिँडेर जाने गरेका बताए ।

चुरेभेगमा बाँके, कालिन्जोर, लखन्देहीलगायतका खोलामा पुल नहुँदा एक गाउँबाट अर्को गाउँमा आउजाउ गर्न जोखिम रहेको स्थानीयले गुनासो गरेका छन् ।