सर्लाहीसहित तराई मधेश क्षेत्रमा वर्षा हुनेक्रम रोकिएसँगै पुनः गर्मी बढ्न थालेको छ ।

यहाँ विगत ३ दिनदेखि अध्यास चर्को घाम लागेर उखरमाउलो गर्मी सुरु भएको हो । त्यसअघि साता÷दस दिन झरी परेको थियो । यहाँ आज पनि बिहानैदेखि चर्को घाम लागेर अत्यधिक गर्मी छ ।

हिजो र अस्ती दुई दिन लगातार दिउँसोपख मौसम बदली भएको थियो । तर वर्षा हुन सकेन् । हिजो दिउँसोपख चुरेभेगका केही ठाउँमा भने एक झर ठूलो पानी परेको स्थानीयले जानकारी दिएका छन् ।

सर्लाहीमा यो वर्ष चुरेभेगमा बारम्बार पानी परिरहेकै छ । दक्षिणी बेल्टमा तुलनात्मक रुपमा कम वर्षा भएको स्थानीय किसानले बताएका छन् ।

यो पटक साउन दोस्रो सातासम्म ठूलो खडेरी जाँदा किसान निराश बनेका थिए । त्यसपछि भने एक सातादेखि सामान्य रुपमै भएपनि वर्षा भइदिँदा धान रोपाइँ हुन पाएको छ ।

बेलैमा रोपेको धानमा किसानले धमाधम मलखाद गरिरहेका छन् । तर किसानले पर्याप्त मल पाएका छैनन् । मौसम उघ्रिएको मौसममा जिल्लाको चुरेवर्ती क्षेत्रका किसानलाई अहिले सँठिया मकै भित्र्याउने चटारो छ ।